काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको बिदाइ र नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायको पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

उक्त समारोहमा बैंक सञ्चालक समितिका पदाधिकारी, पूर्वअध्यक्षहरु, गरिमा म्युचुअल फन्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, बैंक व्यवस्थापन तहमा कार्यरत अधिकारी र अन्य कर्मचारी समेतको उपस्थिति रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

उक्त बैंकमा १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएपछि बैंक सञ्चालक समितिको चैत १४ गते सम्पन्न बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो ।

पद तथा गोपनियताको शपत ग्रहणपछि बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी संस्थालाई थप उचाइमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल दिनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत ढकालले १५ वर्षभन्दा बढी समय बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंकलाई यो उचाइसम्म पुर्याउन निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको भूमिकाको प्रशंसा गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय