काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । वैशाख ११ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक समारोहमा सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
अनिश्चितताले भरिएको संसारमा, आफ्ना बालबालिकाको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना ल्याएको कम्पनीले जनाएको छ । यो योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने बताइएको छ ।
‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ नारा साथ सार्वजनिक गरिएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बालबालिकासम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो, जसमा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिनपछि) देखि १७ वर्षसम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्षसम्म रहने बताइएको छ । ‘न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्षसम्म हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो योजनाको न्यूनतम बीमांक रकम २५ हजार रुपैयाँ तथा अधिकतम बीमांक रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।’
यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मितिदेखि जोखिम सुरु हुने र बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्षपछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भएपछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ सोही मितिदेखि जोखिम प्रारम्भ हुने बताइएको छ ।
यस योजनाअन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमांक भुक्तानी परिपक्वता सुविधाअन्तर्गत बीमा अवधि समाप्ति मितिसम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा सर्तहरुको अधीनमा रही बीमालेखमा उल्लेख भएको बीमांक रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइनेछ ।
बीमा अवधिभित्र जोखिम प्रारम्भ नहँुदै प्रस्तावकभन्दा अगाडि बीमित बालबालिकाकोे मृत्यु भएमा बीमालेखको सर्तहरुको अधीनमा रही कम्पनीले बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पूरक करार तथा अतिरिक्त बापतको बीमा शुल्कबाहेक) भुक्तानी गर्नेछ भने बीमा जोखिम प्रारम्भपछि बीमा अवधिभित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमांक रकमको २५ प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पूरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गर्नेछ । त्यसपछि बीमालेख स्वतः अन्त्य हुनेछ ।
त्यस्तै बीमा अवधिभित्र जुनसुकै समयमा बालबालिका छँदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिइने बताइएको छ । मासिक आय सुविधा बीमांकको १ प्रतिशत बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटेपछि बीमा अवधि समाप्तिसम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समयसम्मका लागि प्रदान गरिनेछ र बीमा अवधि समाप्तिमा बीमांक रकम र बीमा अवधि समाप्ति सम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ ।
बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकसाथ मृत्यु भएमा प्रस्तावकको मृत्युबापत बीमांक रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्युबापत बीमांक रकमको २५ प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपछि बीमित बालबालिकाको समेत मृत्यु भएमा बीमांकको २५ प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेलसम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पूरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि सर्मपण मूल्य प्राप्त गर्न सकिनेछ । सर्मपण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधिअनुरुप कम्पनीले गर्ने बताइएको छ । सर्मपण मूल्य प्राप्त भएको बीमालेखमा सर्मपण मूल्यको ९० प्रतिकत वा बीमांक रकमको २५ प्रतिशत रकम तथा आर्जित बोनसमध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रुपमा प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिनेछ ।
यस योजनामा २१ वर्षदेखिका बीमित प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर ऐच्छिक पूरक करार सुविधाहरु दुर्घटना मृत्यु लाभ सुविधा, दुर्घटनाबाट हुने अपांग अशक्त बीमाशुल्क छुट सुविधा तथा घातक रोग सुबिधा लिन सकिने छ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल गरी ५ तरिकाबाट गर्न सकिने कम्पनीले जनाएको छ ।









