काठमाडौं– सहरमा बिक्री वितरण भइरहेको वाइवाई चाउचाउ गुणस्तरहीन पाइएपछि काठमाडौं महानगरपालिकाले उत्पादक चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सीजी फुड्सको उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको वाइवाई चाउचाउमा क्यान्सर गराउन सक्ने तत्व पाइएपछि महानगरको कृषि तथा पशुपक्षी विभागले जरिवाना गरेको महानगरले जानकारी दिएको छ ।

सीजीले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘घ’बमोजिमको कसुर गरेको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’बमोजिम जरिवाना गरेको महानगरको भनाइ छ । सीजीलाई सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको छ ।

महानगरपालिकाको वडा ६, सरस्वती नगरस्थित किराना पसलबाट २ वैशाखमा संकलन गरेको ब्याच नम्बर एएल/वाइएल२३ वाइवाई चाउचाउको नमुना परीक्षण गर्दा कैफियत भेटिएको हो ।

प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै महानगरका खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने र कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने उल्लेख गरेको महानगरको भनाइ छ ।

नमुनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, ‘खैरो रङको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।

रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ मिलिग्राम केओएच प्रतिग्राम आयल देखिएको महानगरको भनाइ छ । यसको भ्यालु १ मिलिग्राम केओएल प्रतिग्राम आयलभन्दा बढी हुनु हुँदैन ।

खाद्य प्राविधिक बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिएका छन् ।

चाउचाउ बिक्रीमा राखेको एसके इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै उक्त ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिबद्धताजनाएको छ। यस्ता गुणस्तर नभएका खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सीजी फुड नेपालको हुने पनि पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय