काठमाडौं– चीनले नेपाली नागरिकलाई आफ्नो मुलुकको प्रवेषाज्ञा (भिसा) निःशुल्क उपलब्ध गराउने भएको छ । आगामी मे १ बाट यो नियम लागू हुने काठमाडौंस्थित चिनियाँ राजदूतावासले आइतबार एक सूचना जारी गरी जानकारी गराएको छ ।
चिनियाँ राजदूतावासको सूचनामा भनिएको छ, ‘मित्रता प्रवर्द्धन तथा नेपाल र चीनबीचको व्यक्तिगत आदानप्रदानका लागि नेपालस्थित चिनियाँ दूतावासले मे १ २०२४ देखि नेपाली नागरिकका लागि भिसा शुल्क लगाउने छैन ।’ द्रुत शुल्क (एक्सप्रेस फी) र सेवा शुल्क भने लाग्ने दूतावासले जनाएको छ ।
मे १ अगाडि नै स्वीकार गरिएका भिसा आवेदनमा भने साविकको शुल्क लाग्ने दूतावासले प्रस्ट पारेको छ ।
एक्सप्रेस भिसा लिँदा भने एक्सप्रेस २ का लागि २७०० र एक्सप्रेस १ का लागि ४००० शुल्क तिर्नुपर्ने दूतावासले जनाएको छ ।
चीनले नेपाललाई भिसा निःशुल्क गर्नुपर्ने भन्दै नेपालको तर्फबाट पटकपटक प्रयास भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला पनि यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा गएका बेला यो विषयलाई टुंगो लगाएर आएका थिए ।
उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाली पर्यटकका लागि भिसा निःशुल्क गर्न आग्रह गरेका थिए । चैत १३ गते लगानी सम्मेलनको तयारीका लागि चीनमा आयोजित कार्यक्रममा धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ पर्यटकका लागि फ्री भिसा लागू गरिएका कारण लगानी गर्न सजिलो हुने बताएका थिए । हालसम्म चीनको भिसा लिन ३ हजार ९०० तिर्नुपर्ने व्यवस्था छ ।
नेपालले सन् २०१६ देखि चिनियाँ पर्यटकको विना शुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।









