काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्रै दुई ठूला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने बताएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको जोहो गरेर निर्माण सुरु गरिने संघीय संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।
नीति तथा कार्यक्रममा बूढीगण्डकी जलविद्युत् आयोजना र नलगाड जलाशययुक्त आयोजनाको निर्माण आर्थिक अगाडि बढाउने उल्लेख छ ।
१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको पूर्व तयारीको काम सम्पन्न भइसकेको छ । मुआब्जा वितरणलगायतका काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको शीघ्र शिलान्याश गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउँदै आएका छन् ।
धादिङ र गोरखाको सीमा भएर बहने बूढीगण्डकी नदीमा निर्माण हुने सो आयोजनालाई बहुउद्देश्यीय बनाउने समेत सरकारको सोच छ । यस्तै, चार सय १७ मेगावाट क्षमताको नलगाड आयोजनाको समेत विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । सो आयोजना निर्माणका लागि सरकारले आवश्यक तयारी गरेको छ ।
सरकारले नीति तथा कार्यक्रममा जलस्रोतको समग्र विकास र उपयोगका लागि राष्ट्रिय ऊर्जा नीति र जल तथा मौसम विज्ञान नीतिका साथै जलस्रोत, ऊर्जा दक्षता तथा नवीकरणीय ऊर्जा, सिँचाइ, नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन सम्बन्धी कानुन कार्यान्वयनमा ल्याउने बताएको छ ।
नदी बेसिन गुरुयोजनाअनुसार जलस्रोतको समुचित संरक्षण, सम्बर्द्धन तथा अधिकतम उपयोग गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीको कुल विद्युत् जडित क्षमता चार हजार पाँच सय मेगावाट बराबर पुग्नेछ । चालु आवको अन्त्यसम्म नै कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट बराबर पुग्दै छ ।
प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० किलोवाट घण्टा पु¥याउने सरकारको लक्ष्य छ । हाल प्रतिव्यक्ति विद्युत् खपत तीन सय ८० किलोवाट घण्टा बराबर पुगेको छ । सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याउने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गर्ने सरकारको योजना छ । सो आयोजनामा एशियाली विकास बैंकलगायतका बहुपक्षीय दातृ निकायले लगानीको प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, माथिल्लो अरुण जलविद्युत् आयोजनामा समेत विश्व बैंक, एशियाली विकास बैंकलगायतले लगानीको प्रतिवद्धता जनाएको छ । यसैगरी, फुकोट कर्णाली, तामाकोशी–५, जगदुल्ला, चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसहित कार्यान्वयन सुरु गर्ने सरकारको संकल्प छ ।









