वीरगञ्ज (पर्सा)– सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयले आर्थिक मन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६०.७२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व संकलन हुन नसकेको बताए । ‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ,’ उनले भने, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो ।’ भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनामा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा भने ४० अर्ब ३ करोड संकलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गाे रेलबाट ढुवानी हुनेगरेको छ । विगतमा दैनिक तीन वटा कार्गाे रेलबाट मालसमान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ । कार्गाे रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने जनाइएको छ । प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व संकलन घटेको बताए ।

‘यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन,’ उनले भने, ‘गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गर्थ्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन ।’

भन्सार विभागले कार्यालयलाई गत आवमा ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र संकलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय