बागमती– सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा १ लाख ८४ हजार ३१६ सवारी चालकमाथि कारबाही गरेको छ ।
सो कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र ‘राडार गन’बाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा १ लाख ८४ हजार ३१६ पटक नियम उल्लंघन कारबाही गरेको हो ।
दुई सय ६१ जनाको मृत्यु
उक्त अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका १ हजार १७६ सवारी दुर्घटनामा २६१ जनाको मृत्यु भएको तथा २ हजार ५८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ ।
उक्त कार्यालयले गत आवमा २ लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरी २६ करोड ३६ लाख ८३ हजार ५०० राजस्व संकलन गरेको थियो । उक्त आवमा १ हजार ३६२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो । आव २०७८–७९ मा २ लाख ५० हजार ९ सवारी साधनमाथि कारबाही गरी २ करोड ४१ लाख ७० हजार राजस्व संकलन गरेको थियो ।









