काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।
आज परिसूचक ४५ दशमलव ६९ बिन्दुले बढेर २०६४.४५ को अंकमा कायम भएको हो । आज ३२३ कम्पनीको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ७४ हजार ९९१ पटक खरिदबिक्री हुँदा ५ अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह ४.३८ र निर्जीवन बीमा समूह ३.८१ प्रतिशतले बढेको छ ।
चारवटा लघुवित्त कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १४ करोड ८० लाख ८३ हजार २५७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका धितोपत्र संख्याको आधारमा भने नबिल ब्यालेन्स फन्ड–२ अगाडि छ । यो ४ लाख २१ हजार २०७ कित्ता किनबेच भएको छ ।









