काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा बागमतीको योगदान ३६.४ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ ।
उपभोक्ताको मूल्यमा यस वर्षको कुल गार्हस्थ्य उत्पादन करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरेको कार्यालयले त्यसमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरेको छ ।
गत आर्थिक वर्ष २०७९–८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको कार्यालयले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । गतवर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमको योगदान सिमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ ।









