काठमाडौं– आर्थिक वर्ष २०७७–७८ देखि २०७९–८० सम्मको अवधिमा वैदेशिक रोजगारीमा रहेका ४ हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार सो अवधिमा त्यस्तै ८७० जना अंगभंग तथा बिरामी भएका थिए ।

गत तीन वर्षको श्रमिकको मृत्युदर विश्लेषण गर्दा २०७७–७८ को तुलनामा २०७८–७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८–७९ को तुलनामा २०७९÷८० मा एक प्रतिशत घटेको देखिन्छ ।

त्यस्ते अंगभंग तथा बिरामी श्रमिकको दर २०७७–७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८–७९ मा ३१.९५ प्रतिशत र २०७९–८० मा ४९.५४ प्रतिशतले बढेको छ । मृत्यु हुने श्रमिकको संख्यामा कमी आए तापनि अंगभंग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारवीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जल्ने, निसास्सिने, डुब्ने लगायत कारणले मृत्यु, अंगभंग तथा बिरामी परेको अवस्था छ ।

यस वर्ष भएको कुल मृत्यु १ हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत छ । स्वदेशबाट मेडिकल जाँच गरी श्रमको लागि गन्तव्य गएको नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न सकिँदैन ।

यसरी स्वाभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकोले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधासम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्महत्या दुरुत्साहन गर्न मनोचिकित्सा लगायत कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्युदर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भएमा मृतकको शव अन्तिम संस्कारको लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ । यो वर्ष शव व्यवस्थापनमा २ करोड ८५ लाख ८० हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

बोर्डबाट वैधानिक रूपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनको लागि रकम निकासा हुने गरेकोले गैरकानुनी रूपमा रहेका श्रमिकको मृत्यु भएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन् । वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी, गन्तव्य मुलुकका सम्बन्धित निकायको कारणसमेत श्रमिकहरू गैरकानुनी आप्रवासन हुने अवस्था देखिएको छ । अवैधानिक रूपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवासगृहमा राखी उद्धारसमेत गरेको स्थिति छ । अवैधानिक रूपमा रहेका श्रमिकको मृत्यु भएमा मृतकको शव व्यवस्थापन नगरिनु व्यावहारिक देखिँदैन । श्रमिक गैरकानुनी आप्रवासनको कारण अध्ययन विश्लेषण गरी मृत्यु हुने श्रमिकको शव व्यवस्थापन हुनुपर्छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा ३ लाख र २०७४ साउन १६ गतेदेखि ७ लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरणअनुसार विगत पाँच वर्षमा ५ हजार ५११ मृतक श्रमिकतर्फ ३ अर्ब ३ करोड ९८ लाख र १५ अंगभंग तथा बिरामी श्रमिकतर्फ ४३ करोड ८४ लाख ७२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय