बीरगन्ज– नेपाल विद्युत प्राधिकरणले बीरगन्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्ष्य गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ ।

बीरगन्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप माग गर्ने उद्योगहरुलाई विद्युत् आपूर्ति दिन चालु रहेका प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको, उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन अवस्थामा रहेको केही प्रस्ताव गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, बीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रुपमा बनाउन लागेको हो ।

प्राधिकरणले बीरगन्ज औद्योगिक करिडोरको समस्या समाधान गर्न बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राखिरहेको छ । डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो कन्डक्टर निकाली उच्च क्षमता (एचटिएलएस) को राख्ने काम भइरहेको छ ।

एउटा सर्किटको काम सकिएपछि त्यसलाई सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु हुने प्राधिकरणको भनाइ छ । प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने लक्ष्यकासाथ काम भइरहेको छ । पथलैया (पिलुवा)– परवानीपुर प्रसारण लाइनबाट करिब २ सय मेगावाट प्रवाह गर्न सकिनेमा कन्डक्टर बदलेपछि क्षमता बढेर झन्डै दोब्बर हुनेछ । हेटौंडा–पथलैया (पिलुवा) १३२ केभी प्रसारण लाइनको पनि कन्डक्टर बदलेर क्षमता दोम्बर बनाइसकिएको छ । यसले गर्दा परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी कन्डक्टर बदल्ने कार्य जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय