काठमाडौं– नेपाल सरकारका बहालवाला मुख्यसचिवसहित एक दर्जन अधिकारीविरद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध टेरामक्स खरीद प्रकरणमा अनुसन्धान चलिरहेकै बेला भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियारले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अर्याल र आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेश शाक्य, सहसचिव टंकप्रसाद पाण्डे, शक्तिप्रसाद श्रेष्ठ, विष्णुप्रसाद गौतम, रविन्द्रप्रसाद पौडेल, विकल पौडेल, सफल श्रेष्ठ, गणेशविक्रम शाही, हरिवल्लभ घिमिरे र प्रिन्टसेल कम्पनीविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरुबाट ३८ करोड ६७ लाख १७ हजार रुपैयाँको बिगो दाबी गरिएको अख्तियारले जनाएको छ । अख्तियारका आयुक्तहरुको शुक्रबार बसेको बैठकले उनीहरुविरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो ।

अख्तियारको टोलीले आइतबार मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दर्ता गरेलगत्तै मुख्यसचिव पदबाट निलम्बन हुने जानकारी पाएपछि अर्याल आइतबार विहानै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गरेर बाहिरिएको स्रोतले बताएको छ ।

उनीहरु विरुद्ध अख्तियारले ४३ करोड ३२ लाख थान अन्तःशुल्क स्टिकर छपाइको ठेक्कामा घोटला भएको आरोप लगाएको छ । मदिरामा प्रयोग हुने यस्तो स्टिकर छपाइ गर्न आन्तरिक राजस्व विभागले विनाप्रतिस्पर्धा सरकारी मुद्रण संस्था सुरक्षण मुद्रण केन्द्रलाई जिम्मा दिएको थियो ।

सोही प्रकरणमा तत्कालीन सञ्चार सचिवको नाताले अर्यालविरुद्ध मुद्दा परेको हो । २०७९ असोजमा आन्तरिक राजस्व विभागले केन्द्रलाई प्रतिस्टिकर ६० पैसाका दरले छपाइ गर्न दिएको थियो । तर केन्द्रले ८७ पैसाका दरले छपाइ गर्न स्वदेशी प्रिन्टिङ कम्पनी प्रिन्ट सेललाई जिम्मा दियो । ठेक्काका क्रममा जम्मा ३ वटा कम्पनी प्रतिस्पर्धामा आएको र त्यसमध्ये दुईटा कम्पनी अयोग्य घोषित भएका थिए ।

अघिल्ला ठेक्काहरुको तुलनामा यो रकम असाधारण महँगो पर्न गएको अख्तियारको भनाइ छ । २०७८ भदौ २७ मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले प्रतिस्टिकर २५ पैसामा छाप्ने सम्झौता गरेर काम गरेको थियो । त्यसअघि २०७५ मा इन्डोनेसियाको सरकारी कम्पनी पेरम्पेररीले १५ पैसाको दरमा स्टिकर छापेको थियो ।

एकै वर्षको अन्तरमा २४८ प्रतिशत महँगो मूल्यमा सम्झौता भएपछि अख्तियारमा मुद्दा परेको थियो । उक्त घोटलाका मुख्य योजनाकार भने सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेको स्रोतको दाबी छ ।

पौडेल पछिल्लो समय सञ्चार मन्त्रालय अन्तरगतको ठेक्कापट्टामा ठूलो कमिसनको ‘डिल’ गर्दै आएका थिए । उनी यसअघि नै भ्रष्टाचार तथा अकुत सम्पत्ती आर्जन सम्बन्धी मुद्दामा दोषी ठहरिएर जेलमा छन् । उनीमाथि लागेको अर्को भ्रष्टाचार आरोपको अनुसन्धान जारी छ ।

पौडेल विरुद्ध एमआरपी पासपोर्ट, सेक्युरिटी प्रिन्टिङ, पेमेन्ट गेटवे, एकीकृत इमेल प्रणाली, इम्बोस्ड नम्बर प्लेट, अन्तःशुल्क स्टिकर लगायत सूचना प्रविधिका ठूला खरीद ठेक्कामा ‘सेटिङ’ गरेर भ्रष्टाचार गरेको आरोप छ ।
तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा मुछिएको ७० करोड घुस मागेको अडियो काण्डका मुख्य योजनाकार पनि पौडेल नै मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय