वीरगन्ज (पर्सा)– वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहर मैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इन्डस्ट्रिज प्रालिको मुख्य द्वारअगाडि फोहोर थुपारिदिएको हो ।

वीरगन्जले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै उद्योग अगाडि फोहोर थुपारिदिएको हो । यसअघि बाठमाडौंका मेयर शाहले रिङरोड अलपत्र छाडेको भन्दै सडक विभागअगाडि धुलो थुपारिदिएका थिए ।

वीरगन्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसाली दिएको बताए । ‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौं । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशन अनुसार फोहरमैला थुपारिदिएको हो,’ उनले भने ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए । महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए ।

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय