काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट बिजुली लिएर अतिरिक्त महशुल नतिर्ने उद्योगीहरुले प्रमाणको रुपमा मागको टीओडी मिटरको बिवरण पठाउने भएको छ । प्राधिकरणले उक्त विवरण पठाएपछि शक्तिकेन्द्रसँगको पहुँच दुरुपयोग गर्दै उपभोग गरेको बिजुलीको महशुल नतिर्ने अडानमा रहेका उद्योगीका लागि बहानाको विकल्प सकिने छ ।

अहिले उनीहरुले प्राधिकरणले आफूहरुले बिजुली उपभोग गरेको प्रमाणको रुपमा टीओडी (टाइम अफ डे) मिटरको विवरण पठाउनुपर्ने अडानमा छन् । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएका ६१ उद्योगको टीओडी मिटरको तथ्यांक तयार गरिसकेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

शक्ति केन्द्रको आडमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि नै प्रहार हुन थालेपछि प्राधिकरणका सबै कर्मचारी एकजुट भएर उक्त प्रमाण तयार पारेको स्रोतको भनाइ छ ।

संसद्को सार्वजनिक लेखा समितिले पनि प्राधिकरणलाई टीओडी मिटरको विवरण पठाउन भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उद्योगीहरुले खपत गरेको बिजुलीको महशुल उठाउन खोज्दा प्राधिकरण नेतृत्वविरुद्ध आगो भएका थिए । उक्त महशुल उठाउर्ने पर्ने अडानमा रहेका प्राधिकरण सञ्चालक समितिका दुईजना सदस्यलाई सरकारले बर्खास्त गरिसकेको छ ।

सर्वसाधारण जनताले १८ घन्टासम्म लोडसेडिङ झेलेका बेला २४सै घन्टा विद्युत् उपभोग गरेर उत्पादन गरी नाफा कमाएका उद्योगीले त्यसबापतको अतिरिक्त महशुल तिर्न लामो समयदेखि आनाकानी गर्दै आएाक छन् । महशुल नतिर्न उनीहरु अदालत पनि गएका थिए ।

अदालतले प्राधिकरणको फैसला सुनाएपछि उनीहरुले एकातिर विद्युत् उपभोगको प्रमाण दिनुपर्ने भन्दै महशुल तिर्न मानेका छैनन् भने अर्कातर्फ शक्तिकेन्द्र लगाएर प्राधिकरण नेतृत्वलाई तर्साउन लागिपरेका छन् ।

स्रोतले दाबी गरे जस्तै प्राधिकरणले टीओडी मिटरको तथ्यांक प्रस्तुत गरेको खण्डमा ८ अर्बभन्दा बढी महशुल तिर्नुपर्ने उद्योगीहरुसँग बहाना बनाउने विषय नहुने प्राधिकरणका अधिकारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय