काठमाडौं– जीवन बिमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्षको तुलनामा २१.५९ प्रतिशतले मुनाफा बढाएको छ ।
कम्पनीले अघिल्लो वर्ष ५२ करोड मुनाफा कमाएकोमा आर्थिक वर्ष २०८०–८१ मा बढाएर ६३ करोड पुर्याएको हो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमांकीय मूल्यांकनको क्रममा हेरफेर हुन सक्ने बताइन्छ ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अपरिष्कृत वित्तीय विवरणअनुसार यसको जीवन बीमा कोष ६४ अर्ब रुपैयाँ नाघेको छ । यो अघिल्लो वर्षको तुलनामा २३.८३ प्रतिशतले बढी हो । त्यस्तै, जगेडा कोष, महाविपत्ति कोषसहित कम्पनीको कुल कोषको आकार ६६ अर्ब ६४ करोड नाघेको छ ।
८ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी भएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा बीमा व्यवसाय ११.०९ प्रतिशतले बढाएको छ ।
कम्पनीले गत वर्ष प्रथम बीमा शुल्क १२.४४ प्रतिशतले बढाएको छ । नवीकरण बीमा शुल्क अघिल्लो वर्षको १२ अर्ब ६४ करोडबाट बढेर १४ अर्ब १ करोड पुगेको छ । गतवर्ष कम्पनीले १४ हजार ३१ वटा दावी भुक्तानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७.९० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ पुगेको छ । प्रतिशेयर कुल सम्पत्तिको मूल्य ९६६.२६ रुपैयाँ रहेको छ ।









