काठमाडौं– धितोपत्रको दोस्रो बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । बिहीवार कारोबार रकम हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज झन्डै ३० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेनजका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले उकालो लागेर ३०००.८१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०१ अंकले उकालो लागेर ५३५.५१ मा पुगेको छ । कुल ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ मूल्यमा कारोबार भयो ।
नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक ९.६४ र एनएमबी बैंकका लगानीकर्ताले ९.४२ प्रतिशतले कमाएका छन् ।
यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर ७.२२, सुभम पावर ७.१०, मिड सोलु हाइड्रोपावर ६.२८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.६८ प्रतिशतले गुमाएका छन् ।
नेप्सेका अनुसार बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।









