काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले साउन ३२ गते बिहानबाट लागू हुने गरी पेट्रोलको ५ रुपैयाँ र डिजेट तथा मट्टीतेलको ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो ।
अब काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँमा पाइनेछ । सुर्खेत र दाङमा १६४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १६२ रुपैयाँ ५० पैसा पर्नेछ ।
डिजेल र मट्टीतेलको लागि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १५२ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा १५४ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५५ रुपैयाँ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।
भारतबाट आगामी १५ दिनका लागि पेट्रोलको प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको २ रुपैयाँ ९६ पैसाले भाउ घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।









