काठमाडौं– आर्थिक वर्ष २०८०–८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई झन्डै साढे १४ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षभरिमा विदेशमा बस्ने नेपालीले १४४५ अर्ब ३२ करोड रुपैयाँ रकम स्वदेश पठाएका छन् ।
अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी ताजा प्रतिवेदनअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा ४४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि संस्थागत र व्यक्तिगत गरी अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।









