काठमाडौं– मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि आठ वर्षमा विद्युत् (ऊर्जा) खपत तेब्बर भएको छ ।
आर्थिक वर्ष २०७२–७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०–८१ मा १० अर्ब २ करोड युनिट पुगेको हो । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।
गत आवमा सबैभन्दा बढी गार्हस्थ्यतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।
आठ वर्षअघि वर्षायाममासमेत दैनिक ८ घन्टा लोडसेडिङ थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो । २०७३ को कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रुपमा देशका प्रमुख सहरहरुका गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो । २०७५ वैशाखमा सिंगो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।
८ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको प्राधिकरणको भनाइ छ । विद्युत् पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि यसको खपत बढेको बताए ।
‘ठूला तथा साना उद्योगहरुले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यस अवधिमा उद्योगहरुको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रुपमा गरिएको छ जसका कारण आन्तरिक रुपमा विद्युत्को खपत बढिरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।
आव २०७२–७३ मा ३ अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत आव २०७३–७४ मा ४ अर्ब ७७ करोड युनिट पुगेको थियो । आव २०७४–७५ मा विद्युत् खपत ५ अर्ब ५६ करोड, २०७५–७६ मा ६ अर्ब ३० करोड युनिट, २०७६–७७ मा ६ अर्ब ४२ करोड, २०७७–७८ मा ७ अर्ब २८ करोड युनिट भएको प्राधिकरणको भनाइ छ ।
यसैगरी, २०७८–७९ मा ८ अर्ब ८४ करोड, २०७९–८० मा ९ अर्ब ३५ करोड र २०८०–८१ मा १० अर्ब २ करोड युनिट विद्युत् खपत भएको छ । आव २०७९–८० को तुलनामा २०८०–८१ मा विद्युत् खपत करीब १० प्रतिशतले बढेको हो ।
गत आवमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आव २०७९–८० को तुलनामा ११.३४ प्रतिशत बिन्दुले वृद्धि भएको थियो । गत आवको जेठ १६ गते देशभित्र सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो । उक्त दिन पिक डिमान्ड २ हजार २१२ मेगावाट पुगेको थियो ।









