काठमाडौं– भारतीय चेम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजित सेकेन्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडलाई द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्ड प्रदान गरेको छ ।
उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ एकाई प्रमुख नकुल पौडेलले अवार्ड लिएका थिए ।
सो अवसरमा आयोजित ड्राइभिङ इफिसियन्सिज एक्रोस द भ्यालु चेन विषयक समूहगत छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी भएको बताइएको छ । सो कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृश्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चुनौती सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
छलफल कार्यक्रममा उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिवरञ्जन प्रसाद र न्युजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एसिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा थिए ।
सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी थिए । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा, १ एक्सटेन्सन काउन्टर र ५० वटा एटीएममार्फत सेवा दिइरहेको छ ।









