काठमाडौं– देशको प्रतिष्ठित एवं सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले पोखराको तालचोकमा स्टोर खोल्ने भएको छ ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले भूमिपूजन गरी स्टोर निर्माणको औपचारिक शुभारम्भ गरेका हुन् ।
तालचोकमा खुल्न लागेको भाटभटेनीको २८औं स्टोर हो । देशका विभिन्न सहरमा भाटभटेनीका २७ स्टोर सञ्चालनमा छन् ।
एक अर्ब रुपैयाँ लागतमा बन्न लागेको तालचोकको भाटभटेनी स्टोर २ लाख २५ हजार ६ सय वर्गफिट क्षेत्रफलको हुनेछ । भवनमा दुईवटा सिनेमा हल पनि रहने बताइएको छ ।
पोखरा महानगरपालिकामा यसअघि नै भाटभटेनीले एउटा स्टोर सञ्चालनमा छ । काठमाडौं उपत्यकाबाहिर एउटै महानगरमा दुई स्टोर पोखरामा सञ्चालनमा आउँदै छ ।
पर्यटकीय नगरी पोखरामा अर्को स्टोर पनि आवश्यक देखिएकाले निर्माण गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।









