काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बोली फेर्दै उद्योगी, व्यवसायीले आफूले उपयोग गरेको बिजुलीको पैसा तिर्नुपर्ने बताएका छन् ।
ट्रंक लाइन र डेडिकेटेड फिडरबाट बिजुली लिएका उद्योगीले प्रिमियम महशुल तिर्नुपर्ने अडान राख्ने नेपाल विद्युत् प्राधिकरणका दुईजना सञ्चालकलाई सोही अडानका कारण बर्खास्त गरेका खड्का पछिल्लो समय उक्त बक्यौता उठाउनुपर्ने बताउँदै हिँडिरहेका छन् ।
खड्काले बर्खास्त गरेका प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य सर्वोच्चको फैसलाबाट पुनर्बहाली भइसकेका छन् ।
सुरुमा बक्यौता बिजुली महशुल भुक्तानीको लागि दबाब दिन सम्बद्ध उद्योगको लाइन काट्न आदेश दिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध खनिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनदबाब पछि बोली फेरेर उक्त बक्यौता उठाउनुपर्ने भन्दै हिँडिरहेका छन् ।
प्रधानमन्त्रीको बोली फेरिएपछि ऊर्जामन्त्रीले पनि त्यही बाटो पछ्याएका हुन् ।









