काठमाडौं– सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
आइतबार प्रहरीले दिएको निवेदनअनुसार जिल्ला न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्रन अनुमति दिएको हो ।
सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले निर्देशन दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । गृहमन्त्रीको निर्देशन कार्यान्वयन गर्न प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
प्रहरी अधिकारीका अनुसार उनलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर पक्राउ गरिएको हो । अदालतबाट गिरफ्तारीको अनमति नलिएको अवस्थामा प्रहरी अधिकारीले जरुरी पुर्जी दिएर आरोपितलाई नियन्त्रणमा लिन सक्ने व्यवस्था छ । जोशीलाई आइतबार साँझ नै विमानबाट पोखरा लगिएको प्रहरीको भनाइ छ ।
संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ऋणको रुपमा गएको र उक्त रकम जोशी, लामिछाने र सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईले अपचलन गरेको निष्कर्ष निकालेको थियो । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले गएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
जोशी पक्राउ परेलगत्तै रास्वपाले कार्यकर्तालाई पार्टी कार्यालयमा जम्मा हुन निर्देशन दिएको छ । सभापति लामिछानेलाई पक्राउ गर्न नदिन कार्यकर्तालाई पार्टी कार्यालय बोलाइएको ठानिएको छ ।









