काठमाडौं– एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको २७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।
लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित १११ मेगावाट, माथिल्लो साञ्जेनको १४.८ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२.५ मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।
नुवाकोटको पैरेबेसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सबस्टेसन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हब २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सबस्टेसन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था छ ।
रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सबस्टेसनबाट उक्त जलविद्युत् काठमाडौंको मातातीर्थ सबस्टेसनमा पुर्याइनेछ । छ ।
चिलिमेदेखि त्रिशूली हबसम्मको २८ किलोमिटरको प्रसारण लाइनमध्ये २० किलोमिटरको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटरको चार सर्किट लाइन (२४ वटा टावर) छन् । चार सर्किट लाइन रहेको ८ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युत्लाई त्रिशूली थ्री बी हबसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत् प्रवाह गरिनेछ ।
प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेसन निर्माण भए तापनि हाल त्रिशूली थ्रि बी हबको छेउमा (६०० मिटर), मैलुङबेसी (१२३५ मिटर) र हाकु (१४०० मिटर)मा तार तान्ने काम भइरहेको छ ।









