भक्तपुर– सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुंगे पुलमा अराजक गतिविधि गरेको भन्दै आशिका तामाङलाई पक्राउ गरी कारबाही गर्न प्रहरीमा जाहेरी दिएको छ ।

आशिकाले आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने जस्ता काम गरेको उजुरीमा उल्लेख छ । आशिकालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरी वृत्त जगातीमा जोहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्ने गरी विगत तीन वर्षदेखि सञ्चालनमा आएको झोलुंगे पुल चढेबापत पैसा लिएको भन्दै यही असोज ७ गते तामाङ नेतृत्वको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको प्रवक्ता सापकोटाले बताए ।

‘युट्युबलाई कमाई खाने भाँडो बनाउने उद्देश्यले आफूलाई स्वघोषित सामाजिक अभियन्ता बताउने आशिका तामाङसहितको ६–७ जनाको टोलीले नगरपालिकाको सम्पत्तिमाथि चक्कु, कैंची, पेन्चिस, घनलगायत घरायसी हतियार प्रयोग गरी ब्यानर च्यात्ने, टिकट जलाउने र झोलुंगे पुलको संरचना तोडफोड गरी भत्काएको छ,’ नगरपालिकाका प्रवक्ता सापकोटाले भने, ‘त्यो ताण्डव सार्वजनिक सम्पत्तिमाथि गर्न पाइँदैन, वास्तविकता र ऐन, कानुन नबुझी जनतालाई भ्रम फैलाएर तोडफोड गर्ने तामाङसहितको टोलीलाई तत्काल पक्राउगरी कारबाही गर्न नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ ।’

पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले उक्त पुल पर्यटन प्रवद्र्धनकै लागि बनाइएकाले शुल्क लिएको बताए ।

उनले भने, ‘हामी नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि शिव सर्किट बनाउँदै छौं, त्यो पुल त्यस क्षेत्रमा पर्यटक भित्र्याउन बनाइएको हो, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, चलचित्र, म्युजिक भिडियो, टिकटिकलगायत भिडियो निर्माण गर्ने उद्देश्यले नगरपालिकाले उक्त झोलुंगे पुल निर्माण गरी सञ्चालनमा ल्याएका हौं ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानुनसम्मत शुल्क लिएको दाबी गर्नुभयो ।
नगरपालिकाले आर्थिक वर्ष २०७९–८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिने गरी ठेक्कामा लगाएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा ३४ लाखमा र आव २०८०–८१ लागि ३९ लाख रुपैयाँमा ठेक्का लगाएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

नगर प्रमुख थापाले स्थानीय दुई वडाका बासिन्दालाई प्रवेश निःशुल्क गरिएको र सूर्यविनायकका बासिन्दाका लागि शुल्कमा ५० प्रतिशत छुट गरिएको जानकारी दिए । प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसी भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाको मंगलबार बसेको १७५औं कार्यपालिकाको बैठकबाट निर्णय गरी जोहरी दिएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय