काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेश बस्ने नेपालीले झन्डै १३७ अर्ब रुपैयाँ स्वदेश पठाएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनमा विदेश बस्ने नेपालीले १३६ अर्ब ९३ करोड रुपैयाँ बराबर विप्रेषण पठाएका छन् ।
यो अघिल्लो वर्ष साउनको तुलनामा १८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।
गत साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।
साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।









