काठमाडौं– यतिबेला देशभर मनसुनी वायु र भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसको फलस्वरुप अहिले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली छ ।
देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागको भनाइ छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले औंल्याएको छ ।
विभागले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना विभागले औंल्याएको छ । तराईका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।
शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका केही ठाउँमा भारी र केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ । देशका तराईका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा बाढी, पहिरो, डुबान हुन सक्ने भन्दै विभागले सतर्क रहन सुझाएको छ ।









