काठमाडौं– नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराजले यसपालि पनि दराज ११.११ सेल आयोजना गर्ने जानकारी दिएको छ । नेपालमा वर्षकै ठूलो सेल मेला दाबी गरेको कम्पनीले दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने जानकारी दिएको छ ।

‘बहुप्रतिक्षित यस सेलमा आकर्षण थप्न यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरुका साथै अविश्वसनीय छुट लगायत सुविधाहरु समेत उपलब्ध हुनेछन्,’ दराजको विज्ञप्तिमा भनिएको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, ‘ग्राहकहरुको वर्षभरिको प्रतीक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौं । यस सेलले ग्राहकका लागि अप्रत्याशित छुटहरु उपलब्ध गराउनुका साथै हजारौं स्थानीय बिक्रेतालाई आफ्ना पृथक उत्पादनहरु प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ ।’

यसले देशभरका उपभोक्तालाई स्थानीय ब्रान्डहरुको उत्कृष्ट सामान खोज्न सघाउने विश्वास गरिएको पनि उनले बताइन् ।

यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्रान्ड पार्टनरहरु राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास र बाल्ट्रा समावेश छन् । प्लेटिनम पार्टनरमा टेक्नो, परफेट्टी, ग्रिनलाइफ एक्सपिरियन्स, एंकर्स, डा. शेत, र एबीबी रहेका छन् । कम्पनीका अनुसार गोल्ड ब्रान्ड पार्टनरहरुमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम र जेब्रोनिक्स छन् ।

यसैगरी, दराजले १० ओटा बैंक र २ ओटा वालेट पार्टनरसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत २ हजार ५०० रुपैयाँसम्म छुट प्रदान गर्ने व्यवस्था गरेको बताएको छ । यी बैंकका डेबिट कार्डमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत छुट (अधिकतम २ हजार रुपैयाँसम्म) प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २० प्रतिशत छुट (अधिकतम २ हजार ५०० रुपैयाँसम्म) प्राप्त गर्न सक्ने बताइएको छ ।

ग्राहकले नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकमार्फत उक्त छुट पाउने बताइएको छ । ई–सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

यी अफरहरुका साथै यो अभियानमार्फत दैनिक रुपमा ११, १११ र ११११ रुपैयाँका डिलहरु पनि सेलमा रहने विज्ञप्तिमा उल्लेख छ । खरिदकर्ताले ६९९, ९९९, १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्ने बताइएको छ । दराज ११.११ सेल अवधिभर कम्तीमा ३ हजार ५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँचजना ग्राहकले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पनि जित्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय