काठमाडौं– चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा मुलुकको व्यापार घाटा ४ खर्ब ६० अर्ब नाघेको छ । यद्यपि यस अवधिमा आयात–निर्यात दुवैमा सामान्य सुधार देखिएको छ ।
भन्सार विभाग शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कात्तिकम्ममा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ०.१७ प्रतिशतले बढी हो । गतवर्ष साउन–कात्तिकमा ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो ।
निर्यातमा पनि थोरै सुधार देखिएको छ। यसपालि कात्तिकसम्ममा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । पोहोर साउन–कात्तिकमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ मूल्यको वस्तु निर्यात भएको थियो ।
कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कुल व्यापार पोहोरको तुलनामा झन्डै ३ अर्बले धेरै हो । गतवर्ष साउन–कात्तिकमा वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो ।
यस अवधिमा मुलुकको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ छ । व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ०.२६ प्रतिशत कम हो । पोहोर पहिलो चार महिनाको व्इापार घाटा ६ खर्ब ६१ अर्ब ९३ करोड थियो ।









