अमरगढी (डडेल्धुरा)– शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ ।
शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्न सघाउने उद्देश्यले शिक्षक डायरी लागू गरिएको हो ।

शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारुपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ ।

शिक्षणलाई प्रभावकारी बनाउन तथा शिक्षकको पेसागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको पालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताए । ‘शिक्षकले वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षिक योजना बनाई प्रभावकारीरूपमा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न शिक्षक डायरीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘नियमितरूपमा शिक्षक डायरी प्रयोग गर्दा शिक्षकमा हरेक शैक्षिक सूचनाको खोज गर्ने बानीको विकास हुन्छ । बाल मनोविज्ञानको ख्याल गरी योजना तयार पार्न, शैक्षिक सामग्री तयार गर्न, विभिन्न शिक्षण विधिमध्ये उपयुक्त छनोट गरी प्रयोग गर्न, शिक्षणको कार्यलाई सरल तरिकाबाट सम्पन्न गर्न सकिन्छ ।’

डायरीमा पेसाप्रति समर्पित कर्तव्यनिष्ठ शिक्षकले पालना गर्नुपर्ने महत्वपूर्ण जानकारी संग्रह गरिएको शिवशंकर मावि भागेश्वर–५, रुपालीगाडका प्रधानाध्यापक मोति नाथले बताए । उनी भन्छन्, ‘यसबाट शिक्षकको क्षमतामा वृद्धि हुन्छ नै । विद्यार्थीको पढाइप्रतिको मोहलाई बढाउन सकिन्छ । शिक्षकको मूल्यांकन हुने भएकाले अध्ययपन कार्यलाई कसरी गुणस्तरयुक्त बनाउन सकिन्छ भनेर शिक्षकले अब मेहनत गर्नेछन् ।’

शिक्षकले पाठ्ययोजनासहित प्रस्तुत नहुँदा पाठ्यक्रमको मर्मअनुसार पठनपाठन हुन नसक्ने पनि उनले बताए । ‘डायरीमा यिनै कुरालाई दर्शाइएको छ । हामीलार्ई कर्तव्य निर्वाहमा इमानदार हुन मद्दत पुगेको छ,’ उनले भने ।

भुवनेश्वरी प्रावि डुंग्री डडेल्धुराका प्रधानाध्यापक वसन्ती भट्टले डायरीमा उल्लेख गरिएका कुरा महत्त्वपूर्ण रहेको बताइन् । ‘विद्यालयमा शिक्षक डायरी लागू गरी शैक्षिक गुणस्तर हासिल गर्नका लागि अगाडि बढेका छौं,’ उनले भनिन् ।

शिक्षक डायरीमा पालिकाका सम्पूर्ण शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई समावेश गरिएको पालिका अध्यक्ष हेमराज चटौतले बताए । उनका अनुसार डायरीमा नगरपालिकाको प्रशासनिक तथा राजनीतिक विभाजन, नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको तथ्यांकगत विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, शिक्षासँग सम्बन्धित वेबसाइट, पाठ्यक्रमसम्बन्धी जानकारी, विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य, पाठ्यक्रमको संरचना, मूल्यांकन प्रक्रिया उल्लेख गरिएको छ । यसैगरी डायरीमा विद्यार्थीको वैयक्तिक विवरण राख्ने व्यवस्था गरिएको छ ।

विद्यार्थीको नाम, जन्ममिति, आमाबुबाको नाम, अभिभावकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर राख्ने व्यवस्था गरिएको छ । विद्यालयमा पढाइ भएको दिन, विद्यार्थीको उपस्थितिको विवरणसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको विवरण राख्नका लागि डायरीमा व्यवस्था गरिएको छ । डायरीमा शिक्षकको समयतालिका, शैक्षिक योजना बनाउन स्थान उपलब्ध गराइएको छ । विद्यालयमा हुने एकाइ परीक्षाको अभिलेख राख्ने, त्रैमासिक, अर्धवार्षिक र निरन्तर मूल्यांकनको अभिलेख र निरन्तर मूल्यांकन फारामसमेत डायरीमै राखिएको छ । भागेस्वर गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय