काठमाडौं– नेपालमा भ्रष्टाचार घट्नुको साटो झन् झन् बढ्दै गएको भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले औंल्याएको छ ।

संस्थाको भ्रष्टाचार अवधारणा सूचकांक–२०२३ मा १०० मा ३५ अंक पाएको नेपालले पछिल्लो २०२४ मा ३४ अंक मात्रै पाएको छ । भ्रष्टाचार कम भएमा पाउने अंक बढ्छ र बढी भएमा घट्ने गर्छ । अघिल्लो वर्षको तुलनामा नेपालले कम अंक पाएको अवस्थाले यहाँ भ्रष्टाचार बढेको संकेत गर्छ ।

सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ । नेपाल १८० मुलुकमध्ये १०७औं नम्बरमा परेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ । यो सूचीमा कम भ्रष्टाचार हुने मुलुक १ नम्बरमा र बढी भ्रष्टाचार हुने १८० नम्बरमा पर्छन् ।

विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुनेमा साउथ सुडान परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार १८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ । यस्तै, साउथ सुडान आठ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ ।

सर्वेक्षण गरिएका मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्वप्रभावित मुलुकहरू रहेका छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रियस्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा कम अंक प्राप्त गरेका देखिएको छ ।

यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी कामकारबाही अगाडि बढाउन आवश्यक देखिएको संस्थाले औंल्याएको अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अंक, भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, नेपालले ३४ अंक, श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बंगलादेशले २३ अंक र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन् । छिमेकी चीनले ४३ अंक प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय