काठमाडौं– चालु आर्थिक वर्षको माघसम्ममा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १५ अर्ब रुपैयाँ नाघेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि माघसम्ममा ११ खर्ब १५ अर्ब ८९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.३० प्रतिशत बढी हो । अघिल्लो वर्ष माघसम्मको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी थियो ।

अर्थतन्त्र शिथिल भएका बेला वैदेशिक व्यापारमा देखिएको बढोत्तरीले सकारात्मक संकेत गरेको छ । मुलुकभित्र माग बढ्न नसक्दा पछिल्ला वर्षहरुमा आयात अपेक्षा अनुसार बढ्न सकेको छैन ।

गत माघसम्ममा आयात १०.०९ र निर्यात ४६.५० प्रतिशतले बढेको देखिएको छ । गत वर्ष माघसम्ममा ८ खर्ब ९७ अर्ब ९४ करोडभन्दा बढीको सामान आयात भएकोमा यसपालि बढेर ९ खर्ब ८८ अर्ब ५८ करोड नाघेको छ । निर्यात गत वर्ष माघसम्ममा ८६ अर्ब ८३ करोड रुपैयाँभन्दा धेरै रहेकोमा यसपालि बढेर १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ नाघेको छ ।

नेपालबाट भारतमा खानेतेल निकासी हुन थालेपछि निर्यात बढेको हो । भारतले अन्य मुलुकबाट आयात हुने खानेतेलमा बढी महशुल लगाएपछि नेपालले निकासीको फाइदा उठाउन पाएको हो । नेपालबाट निकासी गर्दा साफ्टा सुविधा पाइने हुँदा भन्सार महशुल लाग्दैन । यसको फाइदा नेपाली तेल उद्योगहरुले उठाइरहेका छन् । उनीहरुले तेस्रो मुलुकबाट अप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् ।

यस अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ नाघेको छ । व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२० प्रतिशतले बढी हो ।

गत माघमा मात्रै २९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अघिल्लो महिना पुसमा २५ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको वस्तु निकासी भएको थियो । कात्तिकमा निकासीको अंक १४ खर्ब ३० करोडभन्दा माथि थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय