म्याग्दी– जिल्लाको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।

‘हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ,’ उनले भने, ‘विद्युत्गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने टेलरेसबाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।’

तुँदी पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत्गृहभित्र टर्बाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए ।

रघुगंगा–७ चिमखोलामा बाँध र रघुगंगा–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ ४ हजार ९०० मिटर लामो छ ।

‘आउटलेटबाट विद्युत्गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब १०० मिटर मात्र बाँकी छ । विद्युत्गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ,’ उनले भने ।

तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगंगा–८ को बन्दीमा बाँध, रघुगंगा–७ को चिमखोलामा विद्युत्गृह र ५ हजार ३२८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।

मंगले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी माथिल्लो राहुघाटको बाँध निर्माण गरिएको छ । दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब रुपैयाँ रहेको तुँदी पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे ।

माथिल्लो राहुघाट र मंगले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटरको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय