कठमाडौं– सेवाशुल्क पुनः प्राप्तिको लागि भन्दै तारे होटल तथा रेस्टुरेन्टका मजदुर तथा कर्मचारीहरु जागरण अभियानमा जुटेका छन् । बुधबार राजधानीका सोल्टीलगायत विभिन्न होटलहरुको प्रांगणमा भएका कार्यक्रममा उनीहरुले सर्वोच्च अदालतले गरेको फैसलाको कारण मजदुरहरु अन्यायमा परेको गुनासोसमेत गरे ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघले आयोजना गरको सो कार्यक्रममा संगठनका अध्यक्ष कुमार पन्तले श्रमिकहरुले पाउनुपर्ने सेवाशुल्क पुनः प्राप्त नहुन्जेल संघर्ष जारी राख्ने उद्घोष गरे । मजदुरहरुले उपभोग गरिरहेका सेवा–सुविधाहरुलाई यो वा त्यो बहानामा कटौती गरिनु दुर्भाग्य भएको बताउँदै उनले थपे, ‘खाइपाई आएका सुविधाहरुमा राज्य त पूर्वाग्रही भयो भयो न्यायलय पनि प्रभावित भएर मजदुरका विरुद्धमा पक्षपाती बन्यो, अब यसविरुद्ध जाग्नैपर्छ ।’
अध्यक्ष पन्तले २ वर्षअघि सर्बोच्च अदालतले सेवाशुल्क खारेज गरेदेखि आफ्नो संगठन निरन्तर संघर्षमा रहेको भनदै आउँदो चैत १ गतेबाट माइतीघर मण्डलामा हुने धर्ना कार्यक्रममा सम्पूर्ण मजदुरहरुलाई सहभागी हुन अपिल गरे ।
संगठनका वरिष्ठ उपाध्यक्ष मिलन मल्लले सर्वोच्च अदालतले श्रम क्षेत्रको सेवा शुल्कसम्बन्धी व्यवस्थालाई खारेज गरेर श्रमिक विरोधी फैसला गरेको भन्दै आक्रोश व्यक्त गरे । सेवा शुल्क लिन पाउने व्यवस्था नेपालको मात्रै नभएर अन्तराष्ट्रिय चलनविरुद्ध पनि रहेको बताउँदै उनले थपे, ‘यसरी केही उपभोक्तावादी मानिसहरुको इन्ट्रेस्ट पूरा गर्न न्यायालय पनि प्रभावित हुँदाको परिणाम आज नेपालको दक्ष श्रमिकहरु विदेश पलायन हुन बाध्य भएका छन् ।’
संगठनका महासचिव रामकुमार खड्काले सेवाशुल्क कानुनी रुपमा लागु हुनुपर्ने मात्रै नभएर नियमित काममा स्थायी श्रमिक नियुक्तिको व्यवस्थाको लागि पनि यो संघर्ष अनिवार्य भएको बताए ।
उपाध्यक्ष सुशील राजभण्डारीले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई नेपाल सरकारको श्रेणीविहिन कर्मचारी सो सरह न्यूनतमा बेतनको व्यवस्था नभए दक्ष जनशक्ति बाध्य भएर विदेशिने र देश खालि हुनेप्रति चिन्ता व्यक्त गरे ।
उपमहासचिव सुदर्शन तिमल्सिनाले सम्पूर्ण मजदुरहरुलाई अनिवार्य सामजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने धारणा राखे ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका सचिव तथा सो संगठनको सोल्टी होटल इकाइ समिति अध्यक्ष सुमन महर्जनले सोल्टीमा मात्रै नभएर देशैभर मजदुरहरु अन्यायमा परेकाले उनीहरुको अधिकारका लागि संघर्ष चर्काउनु पर्ने बताए ।
नेपाल पर्यटन तथा होटल समबद्ध श्रमिक संघ सोल्टी इकाइ समिति सचिव सुसन चौलागाईले मजदुरहरुको पक्षमा गरिएको संघर्ष सकारात्मक रहेको र त्यसमा आफ्नो संगठनको ऐक्यबद्धता जाहेर गरे ।
सो जागरण सभामा अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका सचिवालय सदस्य रमेशलाल श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य तथा एण्डीजका अध्यक्ष दिपक खड्का, सोल्टी होटल फ्रन्ट अफिस स्टाफ अनिता रेग्मी, सो होटलका किचेन डिपार्टमेन्ट स्टाफ ऋदेश पाण्डे, हाउसकिपिङ स्टाफद्वय रमेश थापा र मनकृष्ण खत्रीका साथै सोल्टी होटल उच्च व्यवस्थापनसहति सम्पूर्ण मजदुर तथा कर्मचारीहरुले सेवा शुल्क पुनः प्राप्ति नहुञ्जेल निरन्तर संघर्ष जारी राख्ने बताएका थिए ।
फागुन १८ गते ललितपुरस्थित होटल हिमालय र लैनचौरस्थित होटल मल्लबाट सुरु भएको मजदुर जागरण अभियान निरन्तर चलिरहेको छ । आज २१ गते बुधबार होटल सोल्टी, चन्द्रागिरी हिल्स, बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टलगायतका होटल तथा रेस्टुरेन्टहरुमा विभिन्न मजदुर नेताहरुको उपस्थितिमा अभियान सम्पन्न भएको छ ।









