बागमती– हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौत रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ ।

विगत ३/४ वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटकपटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको कार्यालय प्रमुख संगीता कुँवरले बताइन् ।

‘हामीले उद्योग सञ्चालकलाई निरन्तर फोन गरेर र पत्रचार गरेर बोलायौं,’ प्रमुख कुँवरले भनिन्, ‘तर उहाँहरु आउनुभएन, त्यसैले सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएका हौं, सम्पत्ति लिलामीका लागि सूचना जारी भइसकेको छ, छिट्टै प्रक्रिया पुर्याएर लिलामी गर्छौं ।’

यसैबीच हेटौंडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा आएका छन् । योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या १४६ पुगेको औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । पछिल्लो पटक थ्रिस्टार ग्रुपले रंगीन तथा सादा कर्कट पाता तथा बाबा म्यानुफ्याक्चर प्रालिले टिनका स–साना बाकस उत्पादन गर्न सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए ।

अमेरिकी सरकारको आर्थिक सहयोगमा २०२० मंसिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । ३ हजार ३२८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र हाल १० उद्योग निर्माणाधीन अवस्थामा छन् ।

कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको २ हजार १७८ रोपनी, खाली जमीन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ रहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्र हाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर