उदयपुर (गाईघाट)– उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडक खण्डमा सडकछेउमा उभिएका दिदीबहिनीलाई गाडीले ठक्कर दिँदा दुवैको निधन भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिएका छन् ।
बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमै मृत्यु भएको हो । अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप चालक त्रियुगा नगरपालिका–९, गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप गार्इघाट हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।









