काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले विगतका सबै रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ तोकेसँगै यसअघिको कीर्तिमान भंग भएको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँ बढेको हो । अघिल्लो दिन बुधबार सुनको मूल्य १ लाखा ७० हजार ५०० रुपैयाँ थियो ।
बिहीवार फागु पूर्णिमाको सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य तोकिएको थिएन ।
यसअघिको उच्च मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । त्यसपछि घटेर एक लाख ५० हजार रुपैयाँमा आइसकेको सुनको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँ बढेको छ । बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि प्रतितोला २ हजार ५० रुपैयाँ तोकिएको छ ।









