काठमाडौं– काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा पूर्वपत्रकार समेत रहेका प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम आज नियुक्त गरेका हुन् ।

उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा २०२५ सालमा जन्मेका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौं विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिस्ट्रार हुन्। उनले सो विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जंक्ट प्रोफेसर रहेर काम गरिसकेका छन् ।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका छन् ।

राष्ट्रिय अखबारका नियमित स्तम्भरकार डा वाग्लेसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैंकका गभर्नरको सल्लाहकार रही काम गरेको अनुुभव छ । उनले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय संघीयता र उद्यमशीलता आदि विषयमा अनुसन्धान गर्दै आएका छन् । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर