काठमाडौं– सिराहाका रामपुजन महतो काठमाडौंको त्रिपुरेश्वरमा दर्ता रहेको वैष्णो मेडिसेल्स प्रालिमा काम गर्थे । पाँच वर्ष काम गरिसक्दा पनि उनलाई कम्पनीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएन । न सञ्चय कोष जम्मा गर्यो न उपदानबापतको रकम ।

यसैबीच, कम्पनीमा कार्यरत रहेकै अवस्थामा २०८० मंसिर १३ गते कामकै सिलसिलामा रामपुजनको निधन भयो । रामपुजनको निधनपछि उनकी श्रीमतीले रोजगारदाताले श्रीमानलाई सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेका कारण सामाजिक सुरक्षा कोषबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपरेकोले कानुन बमोजिम उक्त सुविधा रोजगारदाताबाटै भराई पाउँ भन्दै २०८० पुस ८ गते कोषमा निवेदन दर्ता गराइन् ।

त्यसपछि कोषले यस विषयमा के कसो भएको हो भनी रोजगारदातासँग सोध्यो । सो क्रममा रोजगारदाताले रामपुजनलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत नगरेको र योगदानबापतको रकम जम्मा नगरेको पुष्टि भयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १९ र २० अनुसार कुनै पनि रोजगारदाताले आफूसँग रोजगार सम्बन्धमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई नियमित रुपमा योगदान रकम जम्मा गर्नुपर्छ ।

सोही आधारमा गत चैत ५ गते कोषले रामपुजनकी श्रीमतीलाई ४४ वर्ष ७ महिना ४ दिनको आश्रित पेन्सनबापत १ करोड ४४ लाख ४८ हजार ६०० रुपैयाँ र अन्तिम संस्कार खर्चबापत २५ हजार गरी १ करोड ४४ लाख ७३ हजार ६०० रुपैयाँ ३ महिनाभित्र भुक्तानी गरी कोषलाई जानकारी दिन कम्पनीलाई आदेश दिएको हो । कोषले निधन हुँदा रामपुजनको उमेर २६ वर्ष ४ महिना २६ पुगेको र नेपालीको औसत आयु ७१.२ वर्ष रहेको आधारमा उनकी श्रीमतीलाई कम्पनीले ४४ वर्ष ७ महिना ४ दिनको पेन्सन दिनुपर्ने निर्णय गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५ को नियम १२ (१) मा रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध समाप्त भइसकको तर ऐन वा उक्त नियमावली बमोजिम जम्मा गर्नुपर्ने योगदान रकम जम्मा नगरेको कारणले श्रमिकले पाउनुपर्ने सुविधा पाएको रहेनछ भने निजले पाउने सुविधा तीन महिनाभित्र भुक्तानी दिई योगदान रकम जम्मा गर्न कोषले सम्बन्धित रोजगारदातालाई आदेश दिन सक्ने व्यवस्था छ ।

त्यसैगरी ऐनको दफा १७(१)(ग) मा कुनै रोजगारदाता उक्त ऐनले तोकेको अवधिभित्र कोषमा सूचीकरण नभएमा वा रोजगारदाताले नियुक्त गरेको वा निजसँग रोजगार सम्बन्ध कायम भएको श्रमिकलाई कोषमा सूचीकरण नगरेमा कोषले त्यस्तो रोजगारदातालाई रोजगार सम्बन्ध कायम रहेको अवधिको श्रमिकले ऐन बमोमिज पाउनुपर्ने सुविधा बराबरको रकम तोकिएको अवधिभित्र सम्बन्धित श्रमिकलाई उपलब्ध गराउन आदेश दिन सक्ने व्यवस्था छ ।

सामाजिक सुरक्षा कोष ऐन २०७४ अनुसार कुनै पनि रोजगारदातालो आफूसँग रोजगारीमा रहेको कर्मचारी वा श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा सूचीकरण गराई काम सुरु गरेको दिनदेखि नै अनिवार्य रुपमा श्रमिकको नाममा सञ्चय कोष र उपदान बापतको रकम जम्मा गरिदिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय