काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विदेशमा बस्ने नेपालीले १३५६ अर्ब ६१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) पठाएका छन् ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।

२०८२ वैशाखमा मात्रै १६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पोहोर वैशाखमा ११५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

गएको साउनदेखि वैशाखसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०१ अर्ब ७५ करोड रुपैयाँ थियो ।

गएको साउनदेखि वैशाखसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४,०५,६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २,८०,३१४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,७३,३०७ र २,३६,३९८ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय