काठमाडौं– भुक्तानी सेवा प्रदायक संस्था आइएमई पे र खल्तीलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

एकीकृत कारोबारपछि कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहने आइएमई लिमिटेडले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । संयुक्त कारोबारपछि एपको नाम खल्ती रहनेछ ।

आगामी ३ महीनासम्म प्रयोगकर्ता समायोजन गरिने बताइएको छ । कम्पनीहरु मर्ज भए पनि दुवै एप यथावत सञ्चालनमा रहनेछन् । दुवै वालेट प्रयोगकर्ताको रकम र रोयल्टी प्वाइन्टहरू एकीकृत गरिनेछ ।

खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुने र आइएमई पेमा मात्र भएका प्रयोगकर्ताको स्वीकृतिमा खल्तीमा समावेश गरिने विज्ञप्तिमा उल्लेख छ । ‘नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधा उपयोग गर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त कारोबारपछि एपको नाम खल्ती भए पनि आइएमई पेमा भएका सबै फिचरहरू त्यसमा समावेश हुनेछन् । आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् । आइएमई पेमा भएको ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछ ।

२०८१ फागुनमा नेपालका आइएमई पे र खल्तीबीच मर्जर गर्ने समझदारी भएको थियो ।

आइएमई पे आइएमई ग्रुपको लगानी भुक्तानी सेवा प्रदायक एप हो । खल्तीमा इन्टरनेट कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड, ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवालसहित अन्य तीन जनाको लगानी छ ।

गुगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी र आइएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय