काठमाडौं– ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहान भन्छिन्, ‘गाली गरेको टिप्पणीलाई स्क्रिन सट गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।’
गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भएपछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका हुन् ।
गीतको टिप्पणीमा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको ‘साइबर ब्युरो’मा उजुरी दिएसँगै माफ माग्नेको संख्या बढेको हो ।
‘डिभोर्सपछि गायिका चौहानले यस्तो गीत गाइन्, उस्तो गरिन् भन्ने र मेरो त नाम नै डिभोर्सजस्तो भयो, फेरि जोडियो सम्बन्ध रे, के के हो के के,’ उनी भन्छिन्, ‘बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साइबर ब्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु ।’
सामाजिक सञ्जालमा जे पनि लेख्न नहुने भन्दै उनले भनिन्, ‘सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने ? के लेख्न पाइन्छ ? के लेख्न पाइँदैन ? भन्ने थाहा हुनुपर्छ । व्यक्तिगत कुरामा तथानाम गाली गर्न त मिल्दैन नि ?, त्यो बुझ्न जरुरी छ ।’
सुझावका लागि टिप्पणी गर्नेले प्रतिभाका बारेमा प्रतिक्रिया दिएको उनलाई राम्रो लाग्छ । ‘तेरो स्वर मन पर्दैन भन्नु म केही भन्दिनँ, मलाई राम्रो नै भन्नुपर्छ भन्ने हैन,’ उनले थपिन्, ‘मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढ्न मिल्ने खालको होस् न ।’
अश्लील गालीगलौजले आफू र परिवारमा ठूलो तनाव सिर्जना भएको उनले सुनाइन् । ‘भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने चलनले धेरैको जीवन बर्बाद भएको छ, यस्तो कुराले त्यो व्यक्ति र परिवारमा परेको असरबारे कसैले सोच्दैनन्,’ उनले पीडादायी अनुभव सुनाउँदै भनिन्, ‘त्यसैले यो कदम उठाउन बाध्य हुनुपर्यो ।’ सामाजिक सञ्जाल नै गाली खाने प्लेटफर्म जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खानका लागि मात्र नभएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उनले खुसी व्यक्त गरिन् । सोही सहानुभूतिले यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको चौहानको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १४ गते ‘साहसी छोरीहरु’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गायिकाहरु चौहान र समीक्षा अधिकारीको तस्बीर राखेर लेखेका थिए
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सहयोगमा प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको ‘सूचना प्रवाहमा सामाजिक सञ्जाल ः अवसर र चुनौती’ विषयक छलफलमा गायिका चौहानले कलाकारहरुलाई अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न र गरेमा सार्वजनिक गर्नुका साथै कानुनी प्रक्रियामा लैजाने चेतावनी दिइन् ।
सामाजिक सञ्जाल आधुनिक समाजको अंग बन्दै जाँदा त्यसको सदुपयोगले प्रशस्तै अवसर र दुरुपयोगले धेरैको व्यक्तिगत गोपनियता र ज्यान समेत जोखिममा पर्ने गरेको छ ।
‘छिनछिनमा सूचना र विचार दिन सकिन्छ, सूचनाको जंगलमा सही हो कि गलत हो भनेर छुट्ट्याउन कठिन छ,’ सञ्चारविज्ञ भुवन केसीले भने, ‘सूचना प्रवाह गर्ने प्रत्येक व्यक्ति त्यो सूचनाप्रति जवाफदेही हुनुपर्छ, सूचनाको दुरुपयोग गर्नेलाई निरुत्साहित गरी अधिकतम सदुपयोग गर्ने प्रणालीको विकास गर्नुपर्छ ।’
उनले सूचना आगोजस्तो भएको उदाहरण दिँदै भने, ‘सामाजिक सञ्जाल भनेको आगोजस्तै हो, सदुपयोग गरे राम्रो काम गर्छ, नत्र जलाएर खरानी बनाउँछ ।’ रासस









