काभ्रेपलाञ्चोक– बिपी राजमार्गका तीन ठाउँमा पहिरो र लेदोका कारण सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११, माम्तीस्थित सडक भेलबाढीको कटानले अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी–९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए। उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर ठूला उपकरण प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय