गलकोट (बागलुङ)- बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत २ वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोलिदिएको छ । बागलुङ नगरपालिकाले ५ हजार रुपैयाँसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जनाएको छ ।

नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले २ वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा ५ हजार रुपैयाँका दरले ८ लाख ४० हजार रुपैयाँ जम्मा गरिसकेको उनले बताए ।

नगरपालिकाभित्रका १४ वटा वडामा जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा खाता खोली नगद ५ हजार रुपैयाँ नगरपालिकाले जम्मा गरिदिएको हो ।

‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘१३औं नगरसभाद्वारा पारित नीति तथा कार्यक्रमअन्तर्गत अहिलेसम्म १६८ छोरीलाई २० वर्षे मुद्दती खाता उपहार दिइएको छ, छोरी जन्माउनेलाई प्रोत्साहन गर्ने नगरको नीतिअनुसार हो, त्यहीअनुसार मुद्दती खातामा चक्रिय ब्याज आउने गरी कार्यविधि निर्माण गरेर बैंकसँग सम्झौता गरिएको छ ।’

परिवारमा बचत गर्ने बानी बसाल्न नगरकी छोरी कार्यक्रम ल्याइएको उनको भनाइ छ । नगरको छोरी कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको हो ।

नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूका लागि एकपटक ५ हजार रुपैयाँ गर्ने प्रावधान छ ।

सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका–२ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको थियो ।

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका उक्त कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको कँडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय