म्याग्दी– जिल्लाको रघुगंगा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगंगामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका ५ जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झीँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमंगले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए ।

गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उनले बताए ।

आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए । रघुगङ्गामा ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट–मंगले र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।

४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाटको ठूलोखोला ‘ए’ र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मंगले–राहुघाटको प्रवर्द्धक तुँदी पावरले मौवाफाँट–दग्नाम खण्डमा १ करोड ५० लाख रुपैयाँ खर्चेर विभिन्न ठाउँमा ढलान गरेको छ ।

‘तुदी पावरले थप २५–२५ लाखमा मौवाफाँट हुँदै झीँ र पाखापानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको छ,” गाउँपालिकाका अध्यक्ष भण्डारीले भन्नुभयो ‘तुदी पवार, ठूलोखोला र माथिल्लो ठूलोखोला एको ६७ लाख रुपैयाँ सहयोगमा दवाङ र अजिंगर भिरको साँघुरो सडक फराकिलो पारेर ढलान हुँदैछ ।’

चिमखोला–मंगले– राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले ८० लाख खर्चेर रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँको फेदी भएर बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि करिब १५० मिटर दुरीमा तटबन्ध गरेका छन् ।

बगरखोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगंगा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले १० करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थल खण्डको सडक स्तरोन्नति थालेको अध्यक्ष भण्डारीले बताए ।

सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगंगा हाइड्रोपावरसँग गरेको सम्झौता अनुसार ११ किलोमिटर पहुँचमार्ग सहायक ठेकेदार परिचालन गरेर ग्राभेल गर्न पूर्वाधार निर्माण थालेको हो । यस अन्तर्गत पिप्लेको हमालचोकदेखि रघुगंगा मावि मुनिसम्मको सडक पनि स्तरोन्नति हुने अध्यक्ष भण्डारीले बताए।

ग्राभेल गरेपछि घुमाउने तालदेखि मौवाफाँटसम्म रघुगंगा हाइड्रोपावरको ८० र अन्य चार वटा जलविद्युत् आयोजनाको २० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय