वीरगञ्ज (पर्सा)– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।
कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । ‘गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ,’ उनले भने ।
गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट ४ अर्ब ४७ करोड ७६ लाख राजस्व संकलन भएको थियो भने चालु आवको दुई महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब १३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख रुपैयाँ मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा ५१ करोड ६२ लाख रुपैयाँ मूल्यका २९५ वटा जीप, कार र भ्यान आयात भएको थियो ।
चालु आवको दुई महिनामा २ अर्ब ७९ करोडका २० हजार ६२० थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा १ अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ ।
चालु आवको दुई महिनामा ६६ करोड ४३ लाख रुपैयाँ मूल्यका ३१८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ ।









