काठमाडौं– बैंक, वित्तीय संस्थाहरु कठिन अवस्थाबाट गुज्रिरहेका बेला स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
शुक्रबार बिहान सम्पन्न बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।
स्ट्यान्डर्ड चार्टर्डको लाभांश हालसम्म घोषित लाभांशमध्ये दोस्रो ठूलो हो । एभरेस्ट बैंकले २० प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।
६ वटा वाणिज्य बैंकले यसअघि नै आर्थिक वर्ष २०८१–८२ को लाभांश घोषणा गरिसकेका छन् ।
सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरु मध्ये ६ वटा वाणिज्य बैंकहरुले मात्रै लाभांश घोषणा गरेको छन् । यसअघि लाभांश घोषणा गर्नेमा ग्लोबल आइएमई, सानिमा, सिद्धार्थ, सिटिजन्स, एभरेष्ट र माछापुच्छ्रे बैंक छन् ।
यसमध्ये एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यसैगरी, ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद र माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद दिने भएको छ ।
सानिमा बैंकले ७.३६ प्रतिशत नगद र सिटिजन्स बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद दिने प्रस्ताव गरेका छन् ।









