वीरगञ्ज- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ३ महिनामा २ खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।
गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको असोजसम्म ३४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु आयात बढेको जानकारी दिए।
उनले भने- वीरगञ्ज नाका हुँदै पछिल्लो ३ महिनामा २ खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिदा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ मूल्यको वस्तु आयात भएको थियो ।
चालु वर्षको ३ महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै यो अवधिमा २६ अर्ब ५८ करोड मूल्यको वस्तु निर्यात भएका छन् ।
अघिल्लो वर्ष सोही अवधिमा ८ अर्ब ८४ करोड रुपैयाँ मूल्यको वस्तु निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु वर्षको सोही अवधिको निर्यात १७ अर्ब ७५ करोड रुपैयाँले बढी हो ।









