खोटाङ– नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ नारासहित २०६९ साउन–३ गते खोटाङको दिक्तेल बजारमा स्थापना गरिएको सालपा विकास बैंकलाई बोर्डले १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।
संस्थापक सेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी २ करोड रुपैयाँ लगानीमा स्थापना भएको बैंकको चुक्ता पुँजी ३५ करोड रुपैयाँ पुगेपछि आईपीओका लागि अनुमति माग गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले जानकारी दिए ।
‘चुक्ता पुँजी ५२ करोड २३ लाख ८८ हजार पुर्याउने गरी आईपीओ खुला गर्ने तयारी गरिएको छ । यसका लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको छ,’ उनले भने । ‘यो सेयर सर्वसाधारण समूहमा निष्कासन हुन्छ । जसअनुसार वैदेशिक रोजगारीमा रहेकाका लागि १० प्रतिशत, मेच्यिुअल फन्डका लागि साढे २ प्रतिशत, कर्मचारीका लागि ०.५ प्रतिशत र बाँकी ८७ प्रतिशत सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।’
नेपाल राष्ट्र बैंकबाट (ख) श्रेणीको अनुमति लिएर सञ्चालन गरिएको सालपा विकास बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनी तोकिएको छ । पहिलोपटक निष्कासन गर्न लागिएको सेयर प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री गरिने बैंककले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा शाखा विस्तार गरेर सेवा प्रदान गर्दै आएको सालपा विकास बैंकले १२ वर्षपछि मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको थियो । सर्वसाधारणमा सेयर बिक्रीलगत्तै विभिन्न जिल्लामा शाखा विस्तार गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिए ।









