काठमाडौं– जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा शनिवार वीरगन्जको होटल भिष्वामा सम्पन्न भएको छ ।
सो अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्ष संघईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित भएको कम्पनीले जनाएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१–८२ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त लाभांशमा १६.०५ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर छ ।

साधारणसभाले संस्थापक समूहबाट गोविन्दलाल संघई, कमलेशकुमार अग्रवाल र विवेककुमार अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । साधारणसभापछि बसेको सञ्चालक समिति ४०७औं बैठकले गोविन्दलाल संघईलाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई चुनौतीहरुबीच अझै थप उचाइमा पुर्याउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०८२ असोज मसान्तसम्ममा कम्पनीको लगानी २५४ अर्ब रुपैयाँ, जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष १३ अर्ब रुपैयाँभन्दा धेरै रहेको पनि विज्ञप्तिमा उल्लेख छ । कम्पनीले १९७ कार्यालयमार्फत सेवा दिइरहेको छ । कम्पनीले हालसम्म ३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको र १०३ अर्ब रुपैयाँ जम्मा दाबी भुक्तानी गरेको बताइएको छ ।









